स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले बार्सिलोनाका लागि हरेक प्रतियोगितामा लड्न तयार रहेको बताएका छन्। आफू बार्सिलोनामा ठिक महसुस गरिरहेको बताउँदै उनले आफ्नो ध्यान टोलीको आगामि प्रतियोगितामा केन्द्रित भएको जानकारी दिएका हुन्।
अघिल्लो सिजन खराब भएको स्मरण गर्दै मेसीले जारी सिजनको शुरुवात पनि खराब भएको स्वीकार गरेका छन्। यस सिजन मेसी उच्च लयमा छैनन्।
सिजनको शुरुवातमा उनले बार्सिलोना छोड्ने मनस्थिति बनाएका थिए। बाध्यताका कारण बार्सिलोनामै बसेका मेसीको प्रदर्शन त्यही कारण खस्किएको होकि भन्ने आशंका गरिएको छ।
तर, मेसीले उक्त कुराको अप्रत्यक्षरुपमा खण्डन गरेका छन्। उनले आफू अहिले बार्सिलोनामा ठिक महसुस गरिरहेको बताएका छन्। ‘समरमा मेरो अवस्था खराब थियो। अहिले म बार्सिलोनामा ठिक छु,’ टेलिभिजन अन्तर्वातामा मेसीले भने, ‘मलाई थाहा छ, क्लब खराब अवस्थामा छ।’
मेसीले बार्सिलोनालाई खराब अवस्थाबाट माथि उकास्न हर प्रयास गरिने जानकारी दिएका छन्। प्रत्येक दृष्टिकोणबाट बार्सिलोना कठिन अवस्थामा रहेको बताउँदै उनले टिमका लागि केही गर्न आफू उत्साहित रहेको बताएका छन्।