नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने तयारी गरी रहँदा ओली समूहले नयाँ प्रवक्ता तोकेको छ।
ओली समूहको मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली पक्षीय भेलाले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रचण्ड पक्षका नेता श्रेष्ठले तत्कालीन एमाले र माओवादीको एकतापछि प्रवक्ताको जिम्मेवारी पाएका थिए।