नेकपा (क्रान्तिकारी–माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल (गौरव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन प्रतिगामी भए पनि त्यसको पुनर्स्थापनाका लागि नभइ अब जनगणतन्त्रको स्थापनाका लागि लडाइँ लड्ने उद्घोष गरेका छन्।
मंगलबार राजधानीमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मूलतः संसदीय व्यवस्था नै देशका निम्ति अभिशाफ भएको बताएका हुन्। २३ दलीय मोर्चाको नेतृत्वकर्ता रहेका गजुरेलले नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरू खेर जानु र पुनः देश अस्थिरतामा जानुको मूल कारण नै संसदीय व्यवस्था रहेको बताएका हुन्।
गजुरेलले एकथरिले प्रतिगमनको कदम चाल्ने र अर्को थरि त्यसको विकल्प संसद् पुनर्स्थापनाका लागि तत्पर रहेको बताउँदै दुवै थरिबाट जनता प्रताडित बाहेक केही नहुने प्रष्ट पारेका छन्।
‘ओलीले प्रतिगमन गरे त्यसविरुद्धमा शक्तिको बागडोरमा जान प्रचण्ड तयार छन्, उनी नभए माधवकुमार नेपाल ती नभए देउवा जो भए पनि जनताले के पाउने त्योभन्दा यो व्यवस्थाकै खारेजमा जानु उचित छ,’ उनले भने।
नेता गजुरेलले अहिले सत्तारुढ दलमै ठूलो संकट र विभाजन आएको बताउँदै अवस्थामा एकले अर्कोलाई कारबाहीको हिलो छ्यापाछ्यापमा लागेको र दुवै पक्षमा शक्ति र वैधानकिताको चरम लडाइँ चलेको र यसबेला देश गम्भीर दुर्घटनामा जानसक्ने संकेत पनि गरे।
ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको खुलासा गरेका छन्। ‘कसैलाई शक्तिमा पुर्याउन फेरि तपाईहरू अर्को आन्दोलन या संघर्ष भन्दै हुनुहुन्छ जनताले किन लड्ने भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, हामी पनि त्यही भनिरहेका छौं, बारम्बार घुमिफिरी संसदीय व्यवस्थाको निम्ति होइन, अन्तिम लडाइँ यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौं भन्ने हो।’
नेता गजुरेलले अहिले ओली असफल भन्ने गरिए पनि मात्रै नभएर सिंगो लोकतान्त्रिक गणतन्त्र फेल भएको दावी गरे। गजुरेलले आफ्नो पार्टीसहितको २३ दलीय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्।
‘संसदीय व्यवस्थाभित्र देशीविदेशी शक्तिहरूले खेल्ने र जनविरोधी दलालहरू मोटाउने र पोसिने रक्षाकबज हुन्छ, त्यसको एकमात्र स्थायी निकास जनगणतन्त्र हो,’ गजुरेलले भने।