सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन। आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अंकले ओरालो लागेको थियो।
यस्तै, सोमबार भने बजार सम्हालिएको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५ दशमलव ४६ बिन्दुले उकालो लागेर २०६१ दशमलव ४१ मा पुगेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा पुगेको छ। कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर छ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।
कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ। त्यसमा बैंकिङ ७० दशमलव ९, व्यापार ७७ दशमलव ४८, होटल २० दशमलव ५६, विकास बैंक ६६ दशमलव १७, जलविद्युत् ८० दशमलव ६८, वित्त २५ दशमलव ८, निर्जीवन बीमा ५२७ दशमलव ७७, उत्पादन ११३ दशमलव ०८, अन्य ७८ दशमलव ८, लघुवित्त १०७ दशमलव ०५, जीवन बीमा ९५० दशमलव ९५ र सामूहिक लगानी कोष ० दशमलव ०८ ले उकालो लागेको छ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८६ करोड ३६ लाख ८२ हजार ७७५ रुपैयाँ बराबरको कारोवार भयो। यस्तै एनआइसी एशिया बैंक ४६ करोड ८१ लाख ३४ हजार १७२ रुपैयाँ, प्रभु बैंक ३२ करोड एक लाख १४ हजार ६१३ रुपैयाँ, एनसिसी बैंक २७ करोड ३१ लाख ७१ हजार ८०९ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी २४ करोड ५८ लाख २६ हजार रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९ दशमलव ९९, नेपाल लाइफ इन्स्योरेन्स ९ दशमलव ९६ साञ्जेन जलविद्युत् कम्पनी ९ दशमलव ९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतले कमाए। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९ दशमलव ९२, युनाइटेड इदी मर्दी ९ दशमलव ९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५ दशमलव १९, श्री इन्भेस्टमेन्ट १ दशमलव ९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १ दशमलव ८१ प्रतिशतले गुमाए।