स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियानेल मेसीले बार्सिलोनाको इतिहासमा नयाँ अध्याय लेखेका छन्। गय राति भएको रियल भाल्लाडोलिडविरुद्धको खेलमा गोल गर्दै मेसीले ब्राजिलियन लिजेण्ड पेलेको दुर्लभ कीर्तिमान तोडेका छन्।
बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै मेसी एउटै क्लबको लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका छन्। यसअघि उक्त कीर्तिमान पेलेको नाममा थियो। पेलेले ब्राजिलियन क्लब सान्टोसका लागि ६ सय ४३ गोल गरेका थिए।
१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेसीले सन् २००५ मा बार्सिलोनाको लागि पहिलो गोल गरेका थिए। यसअघि भ्यालेन्सियाविरुद्ध खेल्दा मेसीले पेलेको कीर्तिमानमा बराबरी गरेका थिए। आफ्नो कीर्तिमानमा बराबरी गरेसँगै पेलेले मेसीको प्रशंसा गर्दै उनलाई बधाई दिएका थिए।