इजरायल सरकारले संसद् विघटन गरेको छ। संसदमा बजेट पारित गराउन नसकेपछि इजरायल सरकारले संसद विघटन गरेको हो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको बताइएको छ। संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ।
गत मे महिनामा प्रधानमन्त्री नेतान्याहुले रक्षामन्त्री बेनी गान्ट्जको पार्टीसँग मिलेर संयुक्त सरकार बनाएका थिए। यद्यपि सत्तारुढ गठबन्धनमा देखिएको आन्तरिक विभाजन बढ्दै गएसँगै सरकारले संसद् विघटन गर्ने निर्णय गरेको हो।
तीन वर्षे यो कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो। जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो।
गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पारित गराउने म्याद थियो। तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन। नेतान्याहूले आफूले निर्वाचन नचाहेको तर गान्ट्जको कारण निर्वाचनमा जानुपर्ने बाध्यता आइपरेको बताएका थिए।