नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक शुरु भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल पक्षका सांसद्हरू उपस्थितिमा संसदीय दलको बैठक शुरु भएको हो।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बानेश्वरस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखेका छन्।
नेकपाका झण्डै दुईतिहाइ सांसद्हरूको रहेको प्रचण्ड–नेपाल पक्ष समूहले बुधबारको बैठकमा संसदीय दलको नेताबाट प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीलाई हटाउन प्रस्ताव गरेको छ।
साथै संसदीय दलकाे नेता नेकपा अध्यक्ष प्रचण्ड नाम प्रस्ताव गरिएकाे छ।
प्रचण्ड–नेपाल पक्ष नेताहरूको मंगलबार भएको केन्द्रीय समिति बैठकले अध्यक्षबाट ओलीलाई हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्षमा नियुक्त गरेको छ।
यसैबीच, मंगलबारको निर्णयसहित प्रचण्ड–नेपाल पक्षीय नेताहरू आधिकारिक नेकपा रहेको दाबीसहित बुधवार निर्वाचन आयोग जाने तयारीमा छन्। ओली पक्षले मंगलबार आफ्ना केन्द्रीय सदस्यहरूको नामावलीसहित निर्वाचन आयोगमा आफूहरू आधिकारिक भएको जानकारी गराएको छ।