नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना गरेर नयाँ सरकार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएपछि प्रचण्डले संसद् विघटन अवैधानिक भएको बताउँदै पुनर्स्थापित गरेर नयाँ सरकार निर्माण गर्ने बताएका हुन्।
संसद् पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा लाग्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेको प्रष्ट पार्दै प्रचण्डले आफूहरू वैधानिक रहेको धारणा राखे।
संसदीय दलमा पनि १ सय १५ अहिले नै सहभागी भएको र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने बचन दिएको उल्लेख गर्दै प्रचण्डले त्यही कारण संसदीय दलमा पनि वैधानिकता पाउने बताएका छन्।
प्रचण्डले सबैभन्दा ठूलो दलको रुपमा आफूहरू स्थापित हुने बताए। प्रचण्डले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको संविधान सभाबाटै प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने उल्लेख गरिएको प्रष्ट पारे।
संसद् विघटन गर्नका लागि ‘ठूलै’ षड्यन्त्र रहेको आशंका व्यक्त गर्दै प्रचण्डले देशीविदेशी शक्तिको चलखेल खुल्दै जाने विश्वास व्यक्त गरेका छन्।