नेपाली क्रिकेटले पछिल्लो समयमा हासिल गरेका उपलब्धि र खेलाडीहरुको उच्च प्रदर्शनका कारण नेपाली क्रिकेट विश्वसामु परिचित भइरहेको छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा नेपाली खेलाडीले अवसर पाउनु नेपाली क्रिकेटका लागि अर्को नयाँ उपलब्धी हो।
थोरै नेपाली क्रिकेटरहरुले मात्र अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न पाएका छन्। स्पिनर सन्दीप लामिछानेले मात्र त्यस्तो नेपाली खेलाडी हुन् विश्वका चर्चित फ्रेन्चाइज लिगहरु खेलेमा छन्। उनले इन्डियन प्रिमियर लिग, बिग बास लिग, पाकिस्ता सुपर लिग, क्यारेबियन प्रिमियर लिग आदि प्रतियोगिता खेलिसकेका छन्।
हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगमी संस्करणको टी–१० लिग खेल्ने भएका छन्। बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका हुन्।
सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन्। टी–१० सोमपालको दोस्रो विदेशी लिग हो। सोमपालले गत वर्ष ग्लोबल टी–२० क्यानडा विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेको थिए।
कुशल मल्ल टिम आबूधाबीमा अनुबन्ध भएका छन्। आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन्। करण पुणे डेभिल्समा अनुबन्ध भएका छन्। समग्रमा टी–१० लिगमा अनुबन्ध हुने करण पाँचौ नेपाली खेलाडी हुन्।
पूर्व कप्तान पारसले अघिल्लो वर्ष आबूधाबीबाट टी–१० लिग खेलेका थिए। सन्दीपले पनि टि–१० लिगको दुई संस्करण खेलिसकेका छन्। टि–१० जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्नेछ। विश्वका सर्वोत्कृष्ट खेलाडीहरुसँगै खेल्न पाउँदा नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउने छन्। त्यसले उनीहरूकाे खेल क्षमतामा वृद्धि हुने अनुमान गर्न सकिन्छ।