सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो १ बजे दुवै पक्षका बैठक बस्ने भएको हो।
ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ। यसअघि मंगलबार पनि दुवै पक्षले छुट्टा छुट्टै बैठक राखेका थिए।
ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो। साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो।
त्यस्तै प्रचण्ड–माधव समूहले भने नेकपाको अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो।