नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार ओलीको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय केन्द्रीय कार्यसमित बैठकले गरेको हो।
मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो। बिहीको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले संसद् विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने बताएका हुन्।
यसअघि, बुधबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना र गगनकुमार थापाले बोलेका छन्। नेताहरूले ओलीको संसद् विघटनको निर्णय असंवैधानिक भएको निष्कर्षका साथ आन्दोलन जानुपर्ने बताएका छन्।
बुधबारको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ।
कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ।
यसअघि, मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्यहरू डा। नारायण खड्का, महेश आचार्य र एनपी साउदले आफ्नो धारणा राखेका थिए।
नेताहरूले बोल्ने क्रम बिहीबार पनि जारी रहने छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसै विषयमा कांग्रेसले औपचारिक धारणा बनाउन बैठक आह्वान गरेको हो।