केपी शर्मा ओली समूहले प्रचण्डलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्षबाट हटाएको छ। बिहीबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। त्योसँगै उक्त समूहले प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ।
यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ। प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्। उनी ओलीनिकट हुन्।
बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्।
कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका हुन्। सुदूर पश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी थिए।
जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ। काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।