घर बाहिरको आँगनमा रगतले लत्पतिएको बञ्चरो थियो। भित्र खाट दुर्गादेवी पुर्कुटीको शव थियो। एकाबिहानै घर वरिपरि छिमेकी र स्थानीयबासीको भीड लागेको थियो।
भेला भएका छिमेकी गाउलेहरूको अनुहारमा सन्त्रासको भाव प्रष्ट देखिन्थ्यो। एकाबिहानै गाउँभरि सनसनीपूर्ण खबर फैलियो। प्रहरीलाई पनि जानकारी पुग्यो। प्रहरीको टोलीले ‘मुभ’ गर्ने तयारी थाल्यो।
पाँचथरको हिलिहाङ गाउँपालिका–५ की दुर्गादेवीको हत्यापछि बिहीबार बिहान देखिएको परिदृष्य हो यो। स्थानीय ३३ वर्षका धनबहादुर उपरकोटीले आफ्नी श्रीमती ३० वर्षीया दुर्गादेवी पुर्कुटीको हत्या गरेका हुन्।
घटनापछि धनबहादुर फरार छन्। दुर्गादेवीको शव पोस्टमार्टम् गर्नका लागि जिल्ला अस्पताल पाँचथर पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
कसरी भयो घटना ?
धनबहादुर स्थानीय खड्ग उपरकोटी र पद्मा उपरकोटीका एक्ला छोरा हुन्। दुर्गादेवीसँग विवाह भएको पनि एक दशकभन्दा बढी भइसकेको छ। उनका ५ जना दिदीबहिनी छन्।
र, वैदेशिक रोजगारीमा गएका धनबहादुर १० वर्षपछि घर फर्किएर गाउँमै खेती किसानी गर्दै आएका थिए। उनी विदेशबाट फर्किएको २ वर्ष भइसकेको थियो।
छिमेकीहरूका अनुसार बुधबार दिउसोदेखि नै धनबहादुर र दुर्गादेवीबीच झगडा भइरहेको थियो। झगडा उत्कर्षमा पुगेपछि धनबहादुर रक्सी खान गाउँ पसे। साँझ घर फर्किएपछि झनै ठूलो झगडा पर्यो।
धनबहादुर फेरि रक्सी थप्न थाले। दुर्गादेवी ४ वर्षे र १० वर्षे छोरालाई लिएर सुतिन्। अत्यधिक मादकपदार्थ सेवन गरेका धनबहादुरले बिहान १ बजे बञ्चरो प्रहार गरेर दुर्गादेवीको हत्या गरे।
श्रीमतीको हत्या गरेपछि धनबहादुर आँगनमा बञ्चरो फ्याकेर फरार भए। पाँचथर प्रहरीका अनुसार धनबहादुरको खोजी कार्य भइरहेको छ।
हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईले घटनामा संलग्न धनबहादुरको खोजी र कानूनी कारबाहीको प्रक्रिया प्रहरीले शुरु गरेको जानकारी दिएकी छिन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। ‘बिहान १ बजेको घटना हो,’ थापाले भने, ‘आवश्यक अनुसन्धान गरी अभियुक्त पक्राउ र कानूनी कारबाहीको काम प्रारम्भ भएको छ।’
यसअघि, २०७६ जेठ पहिलो साता पनि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको थियो। घटनाका अभियुक्त मानबहादुर माखिमले ९ जनाको हत्यापछि देहत्याग गरेका थिए।
३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको सामूहिक हत्या भएको थियो।