भारतको इन्दौरमा नाटकीय सेल्फी लिन खोज्दा एक किशोरीको ज्यान गएको छ। सेल्फीका लागि गलामा पासो लगाएको अभिनय गर्दा १२ वर्षीय किशोरीको ज्यान गएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ती किशोरीले कुर्सीमा चढेर फासी लगाएको फोटो खिच्दै थिइन्। तर, अचानक शरीरको सन्तुलन बिग्रिएपछि उनले टेकेको कुर्सी लड्यो र फासीको फन्दामा निसास्सिएर उनको ज्यान गएको भारतीय प्रहरीको अनुसन्धानमा देखिएको छ।
पुलिसले शवलाई लिएर पोष्टमार्टमको लागि पठाएको छ र यसबारे थप अनुसन्धान गरिरहेको छ। छोरी लामो समयसम्म कोठा बाहिर ननिस्किएका कारण उनको बुबा किशोरीको कोठामा गएका थिए।
तर, त्यसबेलासम्म किशोरीको प्राण गइसकेको थियो। त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। अनुसन्धान अधिकारी मनमोहन ठाकुरका अनुसार किशोरीले सेल्फीका लागि क्यामेरा अन गरेकी थिइन्। यस समयमा कुर्सी सरेको र त्यसबाट किशोरीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको ठाकुरले जानकारी दिएका छन्।