प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरूले पद अस्वीकार गर्न थालेका छन्।
नेकपाको एकतालाई बलियो बनाउनुपर्ने बेलामा अकस्मात् ‘बालुवाटारको आदेश’मा केन्द्रीय सदस्य मनोनित गरिएको बताउँदै ती नेताहरूले पद अस्वीकार गरेका हुन्।
नेकपा ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेका ताप्लेजुङका नेता तथा पूर्व सांसद् डम्बरध्वज तुम्बाहाम्फे, झापाका गोपाल बुडाथोकी र प्रदेश–१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मनोनयन अस्वीकार गरेका हुन्।
नेकपा मोरङका नेता नरेश पोखरेलले पनि ओलीले गरेको मनोनयन अस्वीकार गरेका छन्। उदयपुरको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्यमा गरिएको मनोनयन अस्वीकार गरेका छन्। नेकपा बारा जिल्ला सचिव सुन्दर विक, नेकपा प्रदेश–२ का सदस्य कमलेश झाले पनि पद अस्वीकार गरेका छन्।
लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारी, नेकपा नवलपरासीका नेता बृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवि चौधरी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
नेकपाका खोटाङ जिल्ला सचिव रामप्रसाद दंगाल, रुपन्देहीका जिल्ला नेता नन्दकिशोर ढकाल र तत्कालीन प्रेस चौतारीका पूर्वअध्यक्ष गगन बिष्टले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
त्यसैगरी, देवी बस्याल (पाल्पा), अशोक शाही, कमल श्रेष्ठ (पाल्पा), अछामका यज्ञ बोगटी, अछामका भैरे कामी, डोटीका नारद मलासीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।