संसद् विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन शुरु गरेका छन्। ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरुले माइतीघरबाट आन्दोलन शुरु गरेका हुन्।
उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन्। माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ।