बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। संसद् विघटनपछि रुष्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेकपा प्रचण्ड–नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। अविश्वासको प्रस्तावका प्रस्तावकमा शालिकराम जम्मरकट्टेल र समर्थकमा अरुण नेपाल रहेका छन्।
अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए। आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।