स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन। २६ पटकको च्याम्पियन बार्सिलोना यस सिजन जितका लागि संघर्ष गरिरहेको छ।
बार्सिलोनाले यस सिजन १४ खेल खेलिसक्दा ७ खेलमा मात्र जीत निकालेको छ। ३ खेलमा बराबरी र ४ खेलमा हार बेहोरेको बार्सिलोना २४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। बुधबार भएको खेलमा बार्सिलोनाले भाल्लाडोलिडलाई ३–० गोलले हराएको थियो।
बार्सिलोनाका कप्तान लियोनल मेसी क्लबलाई जीत दिलाउन र आफ्नो ला लिगामा आफ्नो शाख जोगाउन कसरत गरिरहेका छन्। मेसी ला लिगामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। तर, जारी सिजन उनी गोलका लागि ठूलो संघर्ष गरिरहेका छन्।
मेसी व्यवसायिक फुटबलमा एक क्यालेण्डर वर्षमा सर्वाधिक धेरै गोल (९१) गर्ने कीर्तिमानी खेलाडी हुन्। जारी सिजन उनले उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन्। पछिल्ला खेलहरुमा उनको प्रदर्शन सुधार भएको अनुमान गर्न सकिन्छ।
ला लिगामा मेसीले १४ खेल खेलिसकेका छन्। उनले १४ खेलमा ७ गोल मात्र गरेका छन्। र, पनि मेसी जारी सिजन ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा रहेका छन्। लिगमा करिब एक तिहाई खेल सकिँदा लिगका ७ खेलाडी सर्वाधिक गोलकर्ताको दौडमा छन्।
रियल मड्रिडका करिम बेन्जेमा, सेल्टा भिगोका लागो अस्पास, भिल्लारियलका जेरार्ड मोरेनो लिगमा धेरै गोल गर्ने खेलाडीको अग्रपंक्तिमा रहेका छन्। उनीहरुले समान ८ गोल गरिसकेका छन्।
त्यस्तै, बार्सिलोनाका कप्तान मेसी, रियल सोसिडाडका माइकेल ओयर्जाबाल र एथ्लेटिको मड्रिडका लुइस सुवारेजले सर्वाधिक गोलकर्ताको दौडमा बेन्जेमा, अस्पास र मोरेनोलाई पछ्याइरहेका छन्। मेसी, ओयर्जाबाल र सुवारेजले समान ७ गोल गरेका छन्।
लिगमा दुई तिहाई खेल बाँकि नै रहेको हुँदा सर्वाधिक गोलकर्ता बन्ने अवसरबाट मेसी बञ्चित भइसकेका छैनन्। बाँकि खेलहरुको नतिजाले धेरै गोल गर्ने खेलाडीमा परिवतर्न आउन सक्नेछ। मेसी खराब शुरुआत बावजुद सर्वाधिक गोलकर्ताको रेसमा दौडिरहेका छन्।