चितवन जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो।
डेङ्गु संक्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन्। डेङ्गुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा डेङ्गुको संक्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ। गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेङ्गु संक्रमण देखिएको थियो। तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाकारी दिएकाे छ।
कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेङ्गु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए। उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन्। लकडाउनका समयमा चार/पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उनले बताए।
डेङ्गुले हरेक तीन/तीन वर्षमा महामारीको रुप लिने बताइएको छ। जिल्लामा गत वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष संक्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ। डेङ्गु नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ। तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन्। स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। गत आबमा १२७ जनामा संक्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो। यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए।
मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ। खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए। रोग गर्मी र वर्षाका समयमा देखिन्छ। किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ। यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ।