प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ नयाँ मन्त्रीहरू थप्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझै राष्ट्रपति कार्यालय शितल निवासमा शपथग्रहण गर्ने छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका नेता टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापाले मन्त्रीको जिम्मेवारी पाएका हुन्।
पूर्वमाओवादी खेमाक रायमाझीलाई उर्जा, साहलाई श्रम र थापालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी ओलीले दिएका हुन्।
प्रतिनिधिसभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।
प्रधानमन्त्री ओलीको आह्वानमा साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि ८ बजेलाई सारिएको छ।
यसैगरी, दावा तामाङ र गौरीशंकर चौधरी पनि मन्त्री बन्ने पक्का भएको बालुवाटार श्रोतले जानकारी दिएको छ।
यसअघि, नेपाल सरकारका सात मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। पुस ५ आइतबार प्रतिनिधिसभा विघटन भएपछि ७ जना मन्त्रीले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री लीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन्।
कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री याेगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पाेखरेल, खानेपानी मन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका थिए।