प्रधानमन्त्री केपी शर्मा ओली समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरेको छ। पार्टी कार्यालयबाट गुट चलाएको भन्दै ओली समूहका कार्यकर्ताले शनिबार बिहान पार्टी कार्यालयमा ताला लगाएका हुन्।
भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारणबारे उल्लेख गरिएको छ। संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा दुई भागमा विभाजित भएको छ। त्यसको असर प्रदेश हुँदै जिल्लामा पनि परेको छ।
चितवनमा यसअघि नै संसद् विघटनको निर्णयलाई स्वागत गर्दै ओली पक्षका कार्यकर्ताले दीप प्रज्वलन गरेका थिए। त्यस्तै, प्रचण्ड–नेपाल पक्षका कार्याकर्ताले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसका विरुद्धमा विरोध प्रदर्शन गरेका थिए।