नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडकमा आउन आह्वान गरेका छन्। शनिबार एक अपिल जारी गर्दै उनले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न आग्रह गरेका हुन्।
यसअघि नै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो। सभापति देउवाले सोही निर्णयअनुसार आन्दोलनमा सहभागि हुन सबैलाई अपिल गरेका हुन्।