हिजोसम्म तिमी भमरा थियौ
त्यसैले त दिनरात फुलहरूको
रसमा गुलियो खोजीरह्यौ,
तर, तिमी हिजोआज निराश देखिन्छौ
किन किन तिमीले चुस्ने फुलको गुलियोमा
किसानहरूको आँशु मिसिएको छ
जतिसुकै चुस तर, तिमिले सधैं सधैं
नुनिलो रसमात्र पाउने छौ।
जबसम्म गुलियो रसमा रमाइ रहेका
नालायकहरूले चिनीको गुलियो भुलेर
नुनिलो आँशुको मर्म बुझ्नेछन्,
तबसम्म तिमी प्रतिक्षामै रहनु
यदि कोमल हृदयका खानी रहेछन् भने।
ती नुनिला फुलका रसहरूमा
विचरण गरिरहेका तिमीहरूले
गुलियो रसपान गर्न पाउने छौ
प्रतीक्षा गर,
भोको पेट र कठ्याङ्ग्रिएको
गरिब दुःखीको मर्ममाथि
सायदै कुनै दिन
भगवानको आशिर्वाद बर्सिने छ।
ती नालायकहरूले आफ्नो
परिश्रमको मुल्यका लागि दिनरात
तपस्यारत किसानहरू माझ क्षमा माग्ने छन्,
ती अधरहरूले ...!
पख तिमी मात्रै छैनौ
यहाँ हामी पनि छौं
तिम्रो नुनिलो आँशुको मूल्य चुकाउन र
गुलियो उखुको मूल्य तिराउन।
हो हामी पनि किसान हौं।
त्यसैले हामी पनि दिनरात खटिएका
छौं। ती अधरहरूको जिब्रोको गुलियो
स्वाद लुस्न र ती तिम्रो आँखालाई
केन्द्रबिन्दु बनाएर बगेका नुनिलो
आँशुको बाँध थम्याउन पख
केही त पक्कै हुन्छ,
हामी छौं नी तिम्रो साथमा...!!