ठगी र अनियमितताको लामो श्रृंखलामा संलग्न रहेको अभियोगमा सहदेव कक्षपती पक्राउ परेका छन्। अर्बौं ठगी र आर्थिक अनियमिततामा संलग्न रहेको अभियोगमा कक्षपती पक्राउ परेका हुन्।
काठमाडौंका महाशंकर रेग्मीको जग्गा अपचलन गरी हडप्ने प्रयासमा रहेका कक्षपतीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर रानीपोखरीका प्रमुख एसएसपी अशोक सिंहले कक्षपतीलाई पक्राउ गरिएको जानकारी दिएका हुन्।
ठगी र जग्गासम्बन्धी उजुरी परेपछि अभियुक्त कक्षपतीलाई पक्राउ गरिएको जानकारी एसएसपी सिंहले दिएका छन्। ‘आवश्यक अनुसन्धानपछि विस्तृत जानकारी बाहिर आउछ, कानूनी प्रक्रिया पनि शुरु गर्छौं,’ सिंहले नेपाली पब्लिकसँग भने।
प्रहरीका अनुसार कक्षपतीसँगै उनका साझेदार रेवती ढकाल र विष्णु श्रेष्ठ पनि पक्राउ परेका छन्। अभियुक्तहरूमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ।
कक्षपतिको कर्तुत
सहदेव कक्षपतीको ठगी श्रृंखला लामो छ। उनी नेपाली राजनीतिदेखि सामाजिक र न्यायीक क्षेत्रका अगुवालाई ‘आफ्नो मान्छे’ भएको बताउँदै सर्वसाधारण र व्यवसायीलाई ठग्ने र जालसाजी गर्दै आएका छन्।
कक्षपतीले कांग्रेस उपसभापति विजय गच्छदार आफ्नै भिनाजु भएको बताउने गरेका छन्। त्यसैगरी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आफ्नो निकट सम्बन्ध रहेको कक्षपतीले बताउने गर्छन्।
देशका उच्च पदस्थ अधिकारीहरूको नाम बेचेर अर्काको जग्गा हडप्ने, मुद्दा दिने र अदालतको परेको मुद्दा दिएर ‘सेटिङ’मा मिलाइदिनेसम्मको अपराधमा उनी संलग्न छन्।
‘अदालतमा मुद्दा थियो, तपाईको मुद्दा मिलाइदिन्छु, फैसला तपाईकै पक्षमा हुन्छ भनेर पैसा लिने कक्षपती पैसा लिएपछि फोन उठाउँदैनन्,’ एक पीडितले भने।
कक्षपतीले ललितपुरको छम्पीमा स्थानीयबासीको जग्गा कब्जा गरेका छन्। जसका कारण २० परिवारको घरबास उजाड भएको छ।
सोही जग्गा धितो राखेर ऋण लिएका कक्षपती ऋण फिर्ता नगरेपछि कालोसूचीमा परेर फरार भए। सोही मुद्दामा अदालतले ३ महिना कैद सजाय तोकेको थियो।
त्यसैगरी, नेपाल ट्रष्टको काठमाडौं प्लाजाको भवन लिज सम्झौताको अवधि सकिएपछि कक्षपतीले ‘फेरि मिलाउँछु’ भनेर व्यापारीसँग पैसा लिएका थिए।
तर, लिज सम्झौताका सम्बन्धमा अदालतले व्यापारीको पक्षमा आदेश नगरेपछि उनीहरूले कक्षपतीसँग आफूले बुझाएको रकम फिर्ता गर्न दबाब दिएका थिए।
कक्षपतीले गरेको ठगीको फेहरिस्त लामो छ। प्रहरीका अनुसार व्यापारिक प्रतिष्ठानहरूको ठेक्का मिलानदेखि अवैध असुलीसम्ममा कक्षपती संलग्न रहँदै आएका छन्।