नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता सुरेन्द्र पाण्डेले संसद् विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको ओरालो यात्रा शुरु भएको बताएका छन्। धादिङ काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रम बोल्दै नेता पाण्डेले ओलीलाई नयाँ राजा बन्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्।
नेता पाण्डेले ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको बताउँदै यधाशीघ्र संसद् पुनःस्थापना गराउन माग गरेका छन्। कार्यक्रममा उनले ओलीले अदालत पनि विघटन गरेँ भने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ? भन्दै प्रश्न गरेका थिए।
त्यस्तै, उनले अदालतलाई कसैको मुहार हेरेर फैसला नगर्न सुझाएका छन्। कानुन र विधि अनुसार फैसला नभए देश र जनताले दुख पाउने उनको भनाई छ। राजनीतिक रुपमा नेकपा विभाजित भएकोतिर इंकित गर्दै उनले पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने जानकारी दिए।