नयाँ प्रकारको कोरोना भाइरसले विश्वलाई फेरी आतंकित बनाएको छ। बेलायत, फ्रान्सलगायतका देशमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएपछि विश्व तरंगित बनेको हो।
यससँगै जापानले विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न नदिने निर्णय गरेको छ। बेलायतबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण जापानमा सात जनामा देखापरिसकेको अवस्थामा जापानका प्रधानमन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यही डिसेम्बर २८ देखि जापान प्रवेशमा प्रतिबन्ध लगाइएको हो।
यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने बताइएको छ। विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन। जापानको निर्णयले जापान भिषा लागेका नेपाली विद्यार्थीहरु अन्यौलमा परेका छन्। जापानी सञ्चारमाध्यमहरुका अनुसार कोभिड–१९ को नयाँ स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय थपिनेछ।