छिमेकी चीनका उच्च पदस्थ सरकारी अधिकारीहरू आइतबार बिहान काठमाडौं आइपुगेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिहरू काठमाडौं आइपुगेका हुन्।
एयर चाइनाको उडानबाट छेङ्दु हुँदै काठमाडौं आइपुगेको हो। चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ।
नेपालको सत्तारुढ दल नेकपाभित्रको आन्तरिक एकता संकटमा पुगेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू नेपाल आइपुगेका हुन्।
नेकपाका एक नेताले उपमन्त्री येचौको नेपाल आउन लागेको पुष्टि गरे। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित शीर्ष नेताहरूसँग येचौकोले भेट गर्ने छन्।
नेकपाको आन्तरिक कलह उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतलाई भेटेकी थिइन्।
आइतबार चिनियाँ दूताबास र बालुवाटारका प्रतिनिधिसँग संयुक्त बैठक राखिएको छ। जसमा ओलीका तर्फबाट उनका सल्लाहकार राजन भट्टराईले प्रतिनिधित्व गर्ने छन्।