इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीका सुरेन्द्रराज दाहालले सोही गाउँपालिकाका एक सय घर परिवारलाई फाइबर सिरक वितरण गरेका छन्।
गाउँपालिकाका अति विपन्न परिवार छनौट गरी एक सय जनालाई सिरक वितरण गरिएको दाहालले बताएका छन्। कार्यक्रममा साविक गाविसका पूर्वअध्यक्ष ओमनारायण खनालले समाजसेवी दाहालले आफ्नै खर्चमा सिरक वितरण गरेको भन्दै प्रशंसा गरे।
समाजसेवी दाहालले सिरक वितरण गरेपछि जाडोमा कष्टकर जीवन बिताइरहेकाहरूलाई राहत मिलेको पूर्वअध्यक्ष खनालको धारणा थियो।
त्यस्तै वडा नम्बर–६ की कार्यवाहक वडा अध्यक्ष बिन्दू दाहालले व्यक्तिगत खर्चबाट गाउँपालिकाका एक सय जनालाई सिरक वितरण गरेर विपन्न परिवारका लागि सहयोग गरेकोप्रति खुशी व्यक्त गरिन्।
त्यस्तै, समाजसेवी डम्बरबहादुर लिम्बूले आफ्नो कमाईबाट घर खर्च गरेर केही बचत गरेको रकमबाट गरिब तथा विपन्न परिवारलाई सिरक उपलब्ध गराएकोमा दाहालको प्रशंसा गरे। सधैं यसरी नै अरुलाई दिएर खान पुगोस् भन्दै समाजसेवा उत्तम कार्य भएको लिम्बूले बताए।
त्यस्तै शिक्षक उद्धव ओझाले दाहालको यस कार्यबाट अरुले पाठ सिक्नु पर्ने धारणा राखे। दाहालले कोरोना संक्रमणका कारण भएको लकडाउनमा पनि अति विपन्न परिवारलाई ७० बोरा चामल समेत वितरण गरेका थिए।
सिरक वितरण कार्यक्रममा बोल्दै दाहालले चुलाचुली गाउँपालिका तथा मोरङको मिक्लाजुङ गाउँपालिकामा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।