विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश महिला प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ए मा रहेका यी दुई टोलीले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएका हुन्।
आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ लाई ८ विकेटले हराएको छ। एपिएफ विजयी भएसँगै लुम्बिनी प्रदेश पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
जितको लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो।
समूह ए को अन्तिम खेलमा सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली खेल्ने छन्। यी दुई टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन्।