गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरूलाई संक्रमणबाट जोगाउन एवं देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन्। ग्लोबल नेप्लिज न्यूज नेटवर्कसँग कुराकानी गर्दै घलेले एनआरएनए नेतृत्वको ध्यान मानवीय कामभन्दा अन्य काममा अल्झिएको टिप्पणी गरेका हुन्।
यति लामो समयदेखि प्रयोग र सुधार गर्दै आएको सदस्यता प्रणालीमा अकस्मात निर्णय गरिहाल्नु पर्ने बेला अहिले नरहेको र संघले कुनै राजनीतिक चरित्र नबोकेको एनआरएनएका पूर्वअध्यक्ष घलेको धारणा थियो।
घलेले पवित्र समाजसेवी भावना बोकेको संस्थाको परिकल्पना गरेको बताए। ‘त्यस्तो संस्थामा किन जित्ने र हार्ने अवस्था ल्याउने? कसैलाई समाज सेवा गर्न बञ्चित गराउने? किन रोटरियन मोडेलझैँ समावेशी नेतृत्व रोटेट नगर्ने जहाँ युवा, महिला सबै क्षेत्रका व्यक्ति कामको आधारमा नेतृत्वमा पुग्न सकुन्, चुनावले विभाजन ल्याउँछ भने फेरि किन त्यस्तो चुनावमा जाने?,’ घलेले प्रश्न गरे।
अहिले यो सबै बहस गौण रहेको टिप्पणी गर्दै घलेले हतारमा संस्थाको दीर्घकालीन महत्त्वका विषयमा निर्णय गर्न नआत्तिन सुझाव दिएका छन्। ‘के यो त्यस्तो बेला र परिस्थिति हो? हाम्रो जीवनमा पहिलोपटक यस्तो महामारी फैलिएको बेला प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्नु पर्ने होइन?,’ घलेले भने।
युरोप, अमेरिका, अष्ट्रेलियामा हजारौं नेपालीहरू कोरोना संक्रमित भइरहेको अवस्थामा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्ने संघलाई उनले सुझाव दिए ।
‘नेपाल तथा प्रवासी नेपाली समुदाय पनि अझै यो महामारीबाट मुक्त छैनन्, अहिले हाम्रो तात्कालिक चुनौती भनेको नेपाली जनताका लागि आवश्यक खोपहरू प्राप्त गर्ने र पुरै जनसमुदायलाई सुरक्षित गर्न सफलतापूर्वक खोप दिने हो, हामीले सयौं वर्षमा हुने यस प्रकारको घटनासँग जुध्न सहकार्य गर्न नेपाल सरकारलाई सम्पर्क गर्नु पर्दछ,’ उनले भने।
पूर्वअध्यक्ष घलेले एनआरएनए प्रवासमा रहेका नेपालीहरूलाई दुख पर्दा सम्झने संस्थाका रुपमा विकास गर्नु पर्ने पनि बताए। ‘फ्रि डेलिगेट्स, स्मार्ट एनआरएनएको नाममा दैनिक जुम बैठक गर्ने र लामो लामो भाषण दिने काम गरिरहेको सुन्छु, केका लागि यत्रो हतार हो, यो विश्व महामारीको परिवेशमा?,’ उनले प्रश्न गरे।
गैरआवासीय नेपाली संघको भविष्य ‘भिजन २०२०’ मा लामो समय लगाएर समावेश गरेको बताउँदै घलेले अहिले संस्थालाई दूरगामी असर गर्ने काममा हतारिएर सिस्टम परिवर्तन गर्ने काम नगर्न चेतावनी दिए। ‘हामीले विकास गरेको सिस्टम खराब होइन, सिस्टमलाई कार्यान्वयन गर्ने नेतृत्व क्षमता र इमान्दारिताको चाहिँ परीक्षा गरेको हो,’ घलेले भने।
डेटा सिस्टम र सदस्यता शुल्कबारे निर्णय गर्ने अधिकार एनसिसीलाई दिन र ‘युनाइटेड नेसन्स अफ एनआरएनए’ को सुन्दर मोडेलमा जान पनि उनले सुझाव दिए।
एनआरएनएको नयाँ नेतृत्वले निःशुल्क सदस्यता, स्मार्ट एनआरएनए लगायतका दीर्घकालीन महत्त्वका विषयहरू प्रस्ताव गरिरहेका बेला घलेले यस विषयमा गम्भीरताका साथ धारणा सार्वजनिक गरेका हुन्।
एनआरएनएका पदाधिकारीहरूले व्यापारिक स्वार्थका लागि संस्थालाई उपयोग गर्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ नि भन्ने एक प्रश्नको जवाफमा घलेले भने, ‘यदि त्यसो भएको हो भने त्यो गलत हो, एनआरएनए एक सामाजिक संस्था हो, यसलाई व्यापारिक स्वार्थहरूभन्दा माथि राख्नुपर्छ।’