म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब १४ लाख रुपैँया सहयोग जुटेको छ। कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार १३ लाख ९६ हजार ३९६ रुपैँया सहयोग गरिएको हो।
काठमाडौं–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ। अभियानको नेतृत्व गरेका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिए।
‘नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ’, उनले भने, ‘सहयोग जुटाउन फलियागाउँ–काठमाडौं समाजले पनि सघाएको थियो।’
नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा ६८ हजार ५०५ रुपैँया, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा ६९ हजार रुपैँया, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा एक लाख ८८ हजार १९० रुपैँया, अष्ट्रलियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा एक लाख ८७ हजार रुपैँया सङ्कलन भएको थियो।
बेनीमा बस्दै आएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो। ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो। बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए।
निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आउका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ। थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताए।