नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यैचोसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री यैचोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका छन्।
उपमन्त्री यैचोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए। उनले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसासमेत गरे।
उनीहरूबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए।