नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। प्रतिगमनका विरुद्धमा देशव्यापी रुपमा जारी आन्दोलनलाई सशक्त बनाउन श्रेष्ठले आह्वान गरेका छन्।
संसद् विघटनविरुद्ध नेकपाले गठन गरेको संघर्ष समितिका संयोजक श्रेष्ठले काठमाडौंमा आयोजित विरोधसभामा अध्यक्षता ग्रहण गर्दै सरकारको प्रतिगामी कदमविरुद्ध शुरु भएको आन्दोलन निरन्तर जारी रहने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर प्रतिगमनतर्फ देशलाई उन्मुख गराएको बताउँदै श्रेष्ठले ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने उद्घोष गरेका छन्।
नेता श्रेष्ठले नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका राजनीतिक शक्तिहरूलाई पनि संयुक्त आन्दोलनका लागि आह्वान गरेका छन्।