नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ। यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो।
प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका छन्। भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत हुने भएको छ। प्र्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता छ।
भृकुटीमण्डपस्थित सभालाई तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम छ। नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो। यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ।