नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा बस्नेहरू तानाशाहीहरूको गुटको संज्ञा दिएका छन्।
संसद् विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीको प्रवृत्ति नसच्चिएकै कारण नेकपा सडक आन्दोलनमा आइपुगेका बताएका हुन्।
ओलीको विगत त्यति राम्रो नभएको स्मरण गर्दै वरिष्ठ नेता खनालले सत्तामा पुगेपछि झनै संकृण र अनुदार भएपछि उनलाई बिदा गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएपछि ओली सुध्रिएलान् भन्ने आफूहरूले सोचेको भए पनि उनी झनै खराब सोच र चिन्तनबाट अघि बढेको धारणा खनालले राखे।
वरिष्ठ नेता खनालले तीन वर्ष अगाडिको नेकपाको विजयमा ओलीलाई नभइ पार्टीका नीति र कार्यक्रमलाई जनताले भोट दिएको धारणा राखेका छन्।
‘हाम्रो नीति र कार्यक्रमलाई जनविश्वास प्राप्त भएको हो, हामी समाजवादको दिशातर्फ अघि बढ्छौं भनेपछि नै त्यो विजय प्राप्त भएको हो,’ खनालले भने।
ओलीले निरंकुश प्रवृत्ति प्रस्तुत गरी संविधानमाथि हमला गरेकाले अब उनलाई सधैंका लागि बिदा गर्ने खनालले प्रष्ट पारेका छन्।