नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेका केपी ओलीको एण्ड प्रवृत्तिको आयु पूरा भएको बताएका छन्।
ओली सरकारले गरेको संसद् विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्धका कदम सच्याउन चेतावनी दिएका हुन्।
ओलीमा व्यक्तिवाद, गुटवाद र निरंकुश चरित्र हावी भएको बताउँदै नेपालले कम्युनिष्ट चरित्र र लोकतान्त्रिक चरित्र नरहेको पुष्टि भएको बताए।
नेपालले प्रतिनिधिसभा विघटन संवैधानिक रुपमा अनुचित रहनेको तर्क गर्दै राजनीतिक पार्टीको चाहना, नेकपाको निर्णय र जनचाहना विपरीतको ओलीको कदमसँगै उनको बिदाई निश्चित भएको बताए।
‘त्यो कदम हामीलाई, नेकपालाई, नेपाली जनता र संविधानलाई स्वीकार्य छैन,’ नेपालले भने, ‘नेपाली राजनीति इतिहास अब पछाडि जान सक्दैन, उपलब्धिहरू रक्षा गर्नका लागि सबै एकजुट हुनुपर्छ, प्रतिनिधिसभाको पुनर्स्थापनापछि सबै शक्तिहरू मिलेर संविधान कार्यान्वयनको यात्रातर्फ अघि बढ्नुपर्छ।’
संविधानको कार्यान्वयन गर्नुपर्ने बेलामा ओली बरालिएको बताउँदै अध्यक्ष नेपालले संविधान, संघीयता, गणतन्त्रको विरुद्धमा ओली लागेको टिप्पणी गरे।
बयलगाडा चढेर अमेरिका पुगिँदै भनेर गणतान्त्रिक आन्दोलनका क्रममा अभिव्यक्ति दिने ओलीलाई संघीयता र गणतन्त्रको माया नरहेको अध्यक्ष नेपालले बताए। ओलीलाई संघीयता र गणतन्त्र विरोधीको संज्ञा उनले दिए।