नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती, सर्वसत्तावादी र निरंकुश शासक भएको बताएकी छिन्।
नेकपाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेतृ शाक्यले ओलीले जनताको अधिकार खोस्ने दुस्साहस गरेको बताएकी हुन्। उनले ओलीले संविधानको ‘कु’ गरेको बताउँदै तत्काल संसद् पुर्नस्थापना हुनुपर्ने बताइन्।
‘संघीय गणतन्त्रमाथि केपी ओलीले धावा बोलेका छन्। संविधानमाथि ‘कु’ गरेका छन्,’ शाक्यले भनिन्, ‘जनताको अधिकार खोस्ने दुस्साहस गरेका छन्।’
‘हामीले मानेको केपी ओली कमरेड बन्नु भएन। निरंकुश शासक बन्नुभयो। स्वच्छाचारी शासक बन्नुभयो। सामान्ति शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो,’ शाक्यले भनिन्।
‘जनताको अधिकार खोस्न राजाले त सकेनन् केपी ओली र उसको शक्तिले खोस्न सक्दैन भन्ने आज प्रमाणति भएकाे छ,’ उनले भनिन्, ‘संसद् पुर्नस्थापना नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्छौं।’