नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन्।
‘तमु (गुरुङ) समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको य:मरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गरेका छन्।
अध्यक्ष दाहालले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुन:सङ्घर्ष गर्नुपर्ने बेला भएको जनाउँदै उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरे।