छिमेकी चीनका उच्च पदस्थ सरकारी अधिकारीहरू बुधबार बिहान स्वदेश फर्किएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिहरू काठमाडौं आज बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा फर्किएका हुन्।
उपमन्त्री येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको थियो। काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो।
काठमाडौं आइपछि चिनियाँ टोलीले शुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको थियो। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।
त्यस्तै चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो।