बिग बास लिग(बीबीएल) खेल्न अष्ट्रेलिया पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मैदान उत्रिन तयार भएका छन्। कोरोना महामारीका कारण क्वारेन्टाइनमा बसेका सन्दीपले क्वारेन्टाइन अवधि पुरा गरेका हुन्।
उनी गत १५ डिसेम्बरमा कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गरेका थिए। १६ डिसेम्बरमा अष्ट्रेलिया उत्रिएका सन्दीपले त्यहाँ १४ दिन क्वारेन्टाइनमा बिताएका छन्।
जारी सिजनको बीबीएलमा सन्दीपले होबार्ट हुरिकेन्सबाट खेल्नेछन्। बीबीएल सन्दीपको टिम होबार्टले ५ खेल खेलिसकेको छ। तीमध्ये ३ खेलमा जीत हासिल गरेको होबार्ट तालिकाको चौथो स्थानमा छ।
सन्दीपले अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। उनले गत दुई सिजनमा २० खेलबाट २६ विकेट लिएका थिए। क्वारेन्टाइमुक्त भएसँगै सन्दीप अब एडिलेडबाट होबार्ट, तास्नामानियामा प्रस्थान गर्नेछन्।
सन्दीपले होबार्ट छैटौं खेल पनि गुमाउनेछन्। होबार्ट हुरिकेन्सले बुधबार आफ्नो छैटौँ खेल ब्रिसबेन हिटविरुद्ध खेल्दैछ। सन्दीपले सम्भवतः सातौं खेलमा नै होबार्टका लागि खेल्ने अवसर पाउनेछन्।