पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी वर्तमान फुटबलका ‘हट केक’ हुन्। मैदानमा देखिए पनि नदेखिए पनि, राम्रो प्रदर्शन गरे पनि खराब प्रदर्शन गरे पनि यी दुई खेलाडी सदैव चर्चाको शिखरमा नै हुने गर्छन्।
मेसी र रोनाल्डो विश्व फुटबलमा सर्वाधिक बढी तुलना भएको जोडी पनि हो। फुटबलमा मेसी र रोनाल्डोले हासिल गरेको सफलताले उनीहरुमध्ये को उत्कृष्ट हो भन्ने प्रश्नलाई नै दुनियाँको सबैभन्दा कठिन प्रश्न बनाइदिन्छ।
फुटबलप्रेमीहरुले आफूलाई मन पर्ने खेलाडी नै उत्कृष्ट भन्नु स्वाभाविक हो। को उत्कृष्ट भन्ने प्रश्नको उत्तरका लागि तथ्यहरुले सहयोग त गर्छन् तर, के को आधारमा भन्ने कुराले सो प्रश्नलाई झन् बल्झाइदिन्छ।
सर्वकालिन महान् खेलाडी मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भनेर विभिन्न निकायहरुले सर्वेक्षणहरु पनि गरिरहेका हुन्छन्। फरकफरक विषयलाई आधार मानेर गरिने ती सर्वेक्षणहरुले पनि दुईमध्ये उही नै उत्कृष्ट हुन् भनेर ठोकुवा गर्न असफल नै भइरहेका छन्।
त्यस्तै, वर्तमान अवस्थामा मेसी को रोनाल्डो भनेर प्रश्न गरिने हो भने विश्व फुटबलमा दुई ध्रुवमा विभाजित हुन्छ। नहोस् पनि कसरी? विश्व फुटबलमा खडा गरेका कीर्तिमान र खेल मैदानमा देखाउने प्रभावकारिताबाट दुबै खेलाडीहरुले करोडौं प्रशंसकहरु कमाएका छन्।
सन् २००९ को जुलाईमा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए। त्यसबेलासम्म मेसी स्पेनिस क्लब बार्सिलोनाको ‘उदीयमान खेलाडी’ बनिसकेका थिए। सन् २००९ देखि नै मेसी र रोनाल्डोको प्रतिस्पर्धात्मक यात्राको शुरुआत भयो।
रियल मड्रिड र बार्सिलोना त्यसअघि नै ला लिगाका चिरपरिचित प्रतिद्वन्द्वी बनिसकेका थिए। दुई खेलाडी दुई ठूला क्लबमा आबद्ध हुनु नै उनीहरुकोबीच प्रतिस्पर्धात्मक र तुलनात्मक यात्राको पहिलो कारण बन्यो।
दोस्रो कारण, उनीहरुले मैदानमा देखाएको उच्च प्रदर्शन। क्लबका हरेक खेलमा दुई खेलाडीले आफूलाई अब्बल साबित गर्दै गए। त्यही समयमा विश्को ध्यान दुई खेलाडीतिर आकर्षित भयो। ला लिगाको एक सिजन दुई खेल(जसलाई इएल क्लासिको भन्ने गरिन्छ)मा एकअर्काविरुद्ध खेल्नको लागि मेसी र रोनाल्डो भेट मैदानमा हुने गथ्र्यो।
ला लिगाबाहेक अन्य प्रतिस्पर्धामा पनि दुई क्लबको भेट हुँदा केन्द्रमा पर्न थाले मेसी र रोनाल्डो। एउटै लिग, उच्च लय र फुटबलप्रेमीको दृष्टिमा परेसँगै दुई खेलाडीबीच अप्रत्यक्षरुपमा व्यक्तिगत प्रतिस्पर्धा शुरु भइसकेको थियो।
करीब एक दशक आमनेसामने भएका दुई खेलाडीले यहीबीचमा फुटबलमा अविस्मरणीय यात्रा गरे। दुबै खेलाडीले कीर्तिमानका चाङ लगाए र अहिले पनि कीर्तिमानको शिखरतिर अघि बढ्दै छन्। पछिल्लो समयमा फुटबल मैदानमा मेसी र रोनाल्डाको भेट कमै मात्र हुने गर्छ।
सन् २०१८ मा रोनाल्डो इटालियन क्लब युभेन्टसमा आबद्ध भएसँगै यी दुई खेलाडीलाई एकैसाथ मैदानमा देख्न मुश्किल पर्छ। लिग फरक भए पनि फुटबलप्रेमीले उनीहरुको प्रतिद्वन्द्वीतामा कमी आउन दिएका छैनन्। उनीहरुबीचको तुलनालाई जारी राखेका छन्।
जे होस् फुटबलप्रेमीको नजरमा चिरपरिचित प्रतिद्वन्द्वी भए पनि मेसी र रोनाल्डो मिल्ने साथी हुन्। सार्वजनिक कार्यक्रम तथा अन्तरवार्ताहरुमा उनीहरु दुबैले आफूहरुलाई एक अर्काको प्रतिद्वन्द्वी नभएको जिकिर गरेका छन्। केहि समयअघिको एक अन्तरवार्तामा रोनाल्डोले मेसीलाई आफूले कहिल्यै पनि प्रतिद्वन्द्वीको रुपमा नलिएको बताएका थिए।
अन्तरवार्तामा रोनाल्डोले मेसीसँगकाे सम्बन्धबारे बाेलेका कुरा :
‘मेसीसँग मेरो सधैं मित्रताको सम्बन्ध छ। उनी आफ्नो टिमका लागि उत्कष्ट खेल्न चाहान्छन् अनि म आफ्नो टिमको लागि। म निश्चित छु, मेसीलाई यही कुरा सोधियो भने उनले पनि यही भन्नेछन्। मेसी मैदानमा सधैं नै उत्कृष्ट छन्।’
रोनाल्डोले मात्र हैन मेसीले दुईबीचको सम्बन्धबारे खुलेरै बोल्ने गरेका छन्। केही दिनअघिको अन्तरवार्ता मेसीले रोनाल्डो फुटबबल जगतका उत्कृष्ट खेलाडी भएको बताएका थिए।
अन्तरवार्तामा मेसीले राेनाल्डाेसँगकाे सम्बन्धबारे बाेलेका कुरा :
‘रोनाल्डो फुटबल जगतमा छुट्टै स्थान बनाउन सफल खेलाडी हुन्। खेल जगतमा मलाई मनपर्ने धेरै खेलाडी छन्। फुटबलको कुरा आउँदा मलाई मनपर्ने खेलाडी रोनाल्डो हुन्।’
मेसी रोनाल्डोले एकअर्कालाई उच्च सम्मान गर्छन्। यो खेल संस्करको पनि सम्मान हो। उनीहरु आफूलाई प्रतिद्वन्द्वीभन्दा पनि साथीको रुपमा चिनाउन चाहान्छन्। त्यसकारण फुटबलप्रेमीहरुको नजरमा प्रतिस्पर्धी भए पनि मेसी र रोनाल्डो एकअर्काका प्रशंसक हुन्। उनीहरुकै शब्दमा मेसी र राेनाल्डाे ‘साथी’ हुन्।