स्पेनिस ला लिगा फुटबलमा यस सिजन एक तिहाईभन्दा बढी खेल सकिएका छन्। वर्तमान अवस्थासम्म आइपुग्दा ला लिगाको उपाधि दौडमा एथ्लेटिको मड्रिड र रियल मड्रिड बलियो देखिएका छन्।
ला लिगाको बुधबार भएको खेलमा गेटाफेविरुद्ध जीत निकाल्दै एथ्लेटिको मड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ। लुइस सुआरेजको एकमात्र निर्णायक गोलमा गेटाफेलाई १–० गोलले पराजित गरेको एथ्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेको छ।
बुधबार रातिकोे खेलमा रियल मड्रिडलाई इल्चेले झट्का दिएको छ। इल्चेले पेनाल्टी गोलको मद्धतमा रियलसँग १–१ गोलको बराबरी खेल्यो। बराबरीले रियललाई एथ्लेटिकोसँगको अंक तालिकाको प्रतिस्पर्धामा केही कमजोर बनाइदियो। एथ्लेटिकोभन्दा २ खेल बढी खेलेको रियलको १६ खेलबाट ३३ अंक छ।
एथ्लेटिको र रियल मड्रिडले ला लिगा उपाधिमा दबदबा कायम गरिसकेका छन्। रियलले सर्वाधिक धेरै पटक (३४) ला लिगाको उपाधि जितिसकेको छ। एथ्लटिकोले १० पटक उपाधि उचालेको छ। रियल मड्रिड र एथ्लेटिको मड्रिड ला लिगा सिजन २०२०–२१ को मुख्य उपाधि दाबेदार हुन्।
जारी सिजन दुई टिमले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। शुरुवाती अवस्थामा केही लढखडाएको रियलले पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ। एथ्लेटिकोले शुरुवातदेखि नै उच्च लयलाई कायम राखेको छ। र अंक तालिकामा एथ्लेटिको र रियलबीच प्रतिस्पर्धा देखिएको छ। दुबै टोलीको लागि आगामि खेलहरु उपाधि यात्राका लागि महत्वपूर्ण हुनेछ।
उता, २६ पटकको च्याम्पियन बार्सिलोनाले उपाधि दौडबाट बाहिरिसकेको स्वीकार गरेको छ। बार्सिलोनाका कोच रोनाल्ड कोएम्यानले ला लिगा उपाधि दौडबाट बार्सिलोना टाढिइसकेको अहिलेको वास्तविकता हो भनेका छन्। बार्सिलोना हाल १५ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।
त्यस्तै, ८ पटकको च्याम्पियन एथ्लेटिको बिल्वाओ पनि यस सिजन राम्रो प्रदर्शनका लागि संघर्ष गरिरहेको छ। १५ खेलबाट १८ अंक बटुलेको एथ्लेटिको बिल्वाओ ११ औं स्थानमा छ। ६ पटकको उपाधि विजेता भ्यालेन्सिया यस सिजन रेलिगेसन जोनको नजिक रहेको छ। १६ खेलबाट १५ अंक मात्र जोडेको भ्यालेन्सिया १७ औं स्थानमा छ, जुन रेलिगेसन जोनबाट एक स्थान माथि हो।
जारी सिजनको उपाधि दाबेदार एथ्लेटिको मड्रिड र रियल मड्रिडले हालसम्म २ सय २६ खेलमा एकअर्काको सामना गरेका छन्। तीमध्ये रियलले १ सय १२ खेल जितेको छ। एथ्लेटिकोले ५६ खेल जितेको छ। ५८ खेल बराबरीमा सकिएको छ। यस सिजनको ला लिगाको खेलमा रियल एथ्लेटिकोविरुछ २–० गोलले विजयी भएको थियो।