पछिल्लो २४ घण्टामा १७ हजार मानिसको पिसिआर परीक्षण गर्दा न्यू साउथ वेल्स (सिड्नी) वरपर १८ जनामा कोरोना संक्रमण भेटिएपछि नयाँ वर्षको पूर्वसंन्ध्यामा राज्य सरकारले केही कडा प्रतिबन्ध लगाएको छ।
राज्य सरकारले नयाँ वर्षको घरायसी जमघट ५ जनामा सीमित गर्न निर्देशन दिएको हो। घर बाहिर भेला हुन पाउने मानिसहरूको संख्या ५० बाट ३० जनामा सीमित पारिएको छ।
नयाँ संक्रमित मध्ये ९ जना पुरानो उत्तरी क्षेत्र एभलोनको संक्रमणसँग जोडिएका छन्। ६ जना पश्चिमी क्षेत्र एसफिल्ड नजिकैको क्रोएडनमा देखिएको छ। ती सबै एकै परिवारका सदस्य रहेका छन्।
क्रिसमसमा केही अस्थायी भिषाधारीले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै समूद्री किनारमा खुलेआम पार्टी गरेपछि सरकारले त्यसको छानवीन गर्दै कारबाही अगाडि बढाउने भएको छ।
त्यति मात्र होइन, सरकारले कोभिड–१९ का प्रतिबन्धहरू तोडेमा अस्थायी भिषाधारीहरूको भिषा रद्द गर्ने र स्वदेश फर्काइदिनेसम्मको कठोर निर्णय गर्ने बताएको छ।
सिड्नीको उत्तरी क्षेत्रमा शुरु भएको कोरोना भाइरस संक्रमणको लहर नियन्त्रण गर्न न्यू साउथ वेल्स सरकारले विभिन्न प्रतिबन्ध अगाडि सार्दै आएको छ।
पछिल्ला घटनाक्रमका बारेमा बोल्दै सरकारका अध्यागमन मन्त्री एलेक्स हकले समेत सरकारी स्वास्थ्य आदेशको अवहेलना गरेको खण्डमा तोकिएको जरिवाना र उनीहरूको भिषा पनि रद्द गरिने बताएका छन्।
अध्यागमन ऐन अन्तर्गत, सरकारले कुनै पनि बेला अष्ट्रेलियामा रहेका विदेशी नागरिकहरूको भिषा रद्द गर्ने अधिकार राख्ने मन्त्री हकले बताएका छन्।
पछिल्लो समयमा कोभिड९१९ सङ्क्रमितहरूको सङ्ख्या बढे देखि नर्दन बीचेसमा वर्तमान समयमा सबै भन्दा कडा प्रतिबन्धहरू लागु गरिएका छन्।
उत्तरी बिचेसको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई जनवरी ९ तारिखसम्म घरभित्रै बस्न कडा आदेश दिइएको छ। तर, नयाँ वर्षमा आफ्नो घरमा बालबच्चासहित पाँच जनासम्म भेला गर्न पाउने छन्।
भेला हुने सबै जना त्यसै क्षेत्रका बासिन्दा हुनुपर्छ। नर्दन बिचेसको दक्षिणी क्षेत्रका मानिसहरूले पनि बालबच्चासहित सोही क्षेत्रमा बस्ने पाँच जनालाई भेला गर्न पाउने छन्। तर, ग्रेटर सिड्नीका बासिन्दाहरूलाई बोलाउन पाउने छैनन्।
उत्तरी र दक्षिणी, दुवै क्षेत्रका बार, रेस्टुरेन्ट र सम्बन्धितस्थलहरू टेकअवेका लागि मात्र खुल्ने छन्। यसैबीच, सिड्नीको नर्दन बिचेसमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण अहिलेसम्म १ सय २९ जनामा सक्रमित भएको राज्य सरकारले बताएको छ।