नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा होबार्ट हुरिकेन्सका लागि खेल्न आतुर रहेको बताएका छन्।
क्वारेन्टाइनबाट हालै मात्र बाहिरिएका सन्दीपले सामाजिक सञ्जालमार्फत टोलीको अंश बन्नको लागि आतुर रहेको जानकारी दिएका हुन्। उनले नयाँ वर्षले सबैमा खुशी ल्याओस् भन्दै नयाँ वर्षको शुभकामना पनि दिएका छन्।
बीबीएलमा सन्दीप आबद्ध होबार्टले ६ खेल खेलिसकेको छ। तीमध्ये ४ खेलमा जीत र २ खेलमा पराजित होबार्ट अंक तालिकाको तेस्रो स्थानमा छ। होबार्टले शनिबार आफ्नो ७ औं खेलमा मेलबर्न स्टार्सको सामना गर्दैछ। सन्दीपले सम्भवतः मेलबर्नविरुद्ध होबार्टबाट आफ्नो पहिलो खेल खेल्नेछन्।