नेपाली कांग्रेसले पार्टीका सदस्य समेत रहेका बाँकेका डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौं ल्याइएको घटनाको निन्दा गरेको छ। कांग्रेसले चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद् अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला सर्वत्र विरोध भएको उल्लेख गरेका छन्।
‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि व्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘तर, त्यो कानूनी प्रक्रियाभन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो।’
प्रवक्ता शर्माका अनुसार पूर्व प्रहरी समेत रहेका चन्द स्थानीय एक निजी क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रुपमा काम गरेर परिवार पालिरहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१८ का चन्दलाई पुस १४ गते राति प्रहरीले पक्राउ परेको हो।
‘सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय छ, नेपाली कांग्रेस नागरिकप्रतिको यो व्यवहार सच्याउन चेतावनी दिँदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ,’ शर्माले भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपाका सांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठले सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट ‘अपहरण’ शैलीमा काठमाडौं ल्याएको विषयमा आठ महिना अघि चन्दले फेसबुकमा स्टाटस लेखेका थिए।