प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनी निकट नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले संघीयता नै खारेज गरिदिन सुझाव दिएकी छन्।
सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई नेतृ पालले संघीयता खारेज गर्न सुझाव दिएकी छिन्। पालले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १ सय ५ मा झार्नुपर्ने धारणा राखेकी हुन्।
संघीयता खर्चिलो भएको बताउँदै पालले प्रदेशको कामै नदेखिएको जिकिर गरेकी छिन्। ‘त्यसकारण स्थानीय तहलाई थप बलियो बनाउनुपर्छ, प्रदेश सरकार चाहिँदैन, संघीयता खारेज गर्ने आँट प्रधानमन्त्रीज्यूले गर्नुपर्छ’ नेतृ पालले भनिन्।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसद्को सिट संख्या १ सय ५ जनाको हुनुपर्ने र संघीय सरकारको मन्त्रिपरिषद् बढीमा १५ सदस्यीय बनाउनु पर्ने पालको धारणा छ।
नेतृ पालले यसअघि पनि यस्तै विवादित धारणा राख्दै आएकी थिइन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य पाल नेकपाको विवादपछि ओली समूहमा रहेकी छिन्।