प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको पक्षपातीहरूलाई ठाउँ दिनकै लागि राष्ट्रपतिको हिर्मत लिने काम भएको दावी गरेका छन्।
प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्र र संघीय प्रणालीलाई गलत सावित गर्न विभिन्न किसिमका प्रचार भइरहेको बताएका हुन्।
‘लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ, राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ’ सम्बोधनका क्रममा ओलीले भने।
ओलीले आगामी निर्वाचनपछि मात्रै बहुमत र अल्पमतको टुंगो लाग्ने बताए। नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपालसहित बहुमत नेताहरूमाथि कटाक्ष गर्दै ओलीले बहुमतका लागि निर्वाचन फर्खिन आग्रह गरे।
‘उहाँहरू बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ, बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ, चुनावपछि बहुमत को हो? अल्पमत को हो? प्रमुख पार्टी को हो? तपाई हामीले देख्ने छौं,’ ओलीले भने।
प्रचण्ड–नेपाल समूहले गरेको दुई अध्यक्षको घोषणाप्रति पनि ओलीले व्यंग्य गरेका छन्। पार्टीको ९औं महाधिवेशनबाट आफू अध्यक्षमा चयन भएको दावी गर्दै ओलीले दुई अध्यक्ष कसरी बनाइयो भनेर प्रचण्ड र नेपाललाई प्रश्न गरे।
‘देश, पार्टी र जनताको कुरामा छैन, पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायव गर्नेतिर उहाँहरू लाग्नु भएको छ, कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ, यो हदको पद लोलुपता?,’ ओलीले भने।