गृहमन्त्री रामबहादुर थापाले प्रतिगामी शक्तिहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको षडयन्त्र रचेको बताएका छन्।
नेकपा ललितपुर जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सचिवालय सदस्य थापाले नेपालमा राजनीतिक अस्थिरता निम्त्याउनकै लागि नेकपा विभाजन गर्न खोजेको बताएका हुन्।
गृहमन्त्री थापाले नेकपा विभाजनका लागि प्रतिगामी शक्तिले चरणवद्ध रुपमा रणनीति तयार पारेको जिकिर गरेका छन्।
नेकपा विभाजनलाई अग्रगमन र प्रतिगमनबीचको संघर्ष रहेको दावी गर्दै थापाले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेदेखि प्रतिगामी शक्ति नेकपा विभाजन गर्न लागिपरेको बताए।
थापाले स्थिर सरकार र स्थायित्व प्राप्त गरेदेखि मुलुकमा अस्थिरता कसरी पैदा गर्ने रणनीतिमा प्रतिगामीहरू शुरुदेखि लागिपरेको धारणा राखे।
३ वटा रणनीतिका साथ नेकपा विभाजनको प्रयास भएको बताउँदै थापाले भने, ‘नेकपा विभाजन गर्न, अन्तरविरोध, असन्तुष्टि, कमजोरीलाई सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ।’
प्रतिगामीहरूलाई परास्त गर्नकै लागि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको थापाको कथन थियो।