नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई गराएको छ।
साथै प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल पक्षले नेकपाको वैधानिकतासम्बन्धी आवश्यक परामर्श गर्नका लागि नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, गोविन्द बन्दी र खिमलाल देवकोटालाई जिम्मेवारी तोकिएको जानकारी पनि आयोगलाई दिएको छ।
नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अध्यक्ष समेत रहेका ओलीलाई जिम्मेवारीबाट हटाएर माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको पत्र आयोगमा दर्ता गरिएको पुष्टि गरेका हुन्।
राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारबाही गर्न सकिने प्रावधान रहेकाले त्यसैअनुसार ओलीलाई कारबाही गरिएको जानकारी आयोगलाई दिएको पोखरेलले बताए।
पुस ७ गतेमा बसेको नेकपा बहुमत केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। बैठकमा ४ सय ४१ मध्ये ३ सय १५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो।