सर्वोच्च अदालत बार एशोसिएशनले संसद् विघटनसम्बन्धी दायर रिटमा सर्वोच्च अदालतले मागेको ‘एमिकस क्यूरी’का लागि नाम सिफारिस गरेको छ।
सर्वोच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ताहरू खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम ‘एमिकस क्यूरी’का लागि पठाइएको हो।
सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यका अनुसार बारका तर्फबाट शुक्रबार दुई वरिष्ठ अधिवक्ताको नाम पठाइएको हो।
नेपाल बार एशोसिएशनले ‘एमिकस क्यूरी’का लागि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम पठाएको छ।
संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल बार एशोसिएशनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएशनसँग २ जना एमिकस क्युरी माग गरेको थियो।
संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।